काठमाडौं, १५ चैत । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राजनीतिक रुपमा असफल भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले थापा र लिङ्देन आफूभन्दा सिनियर भएपनि राजनीतिक रुपमा फेलियर भइसकेको बताएका हुन् । ‘मैले रेस्पेक्ट गर्नुपर्छ, उहाँहरु सिनियर दाइहरु हुन् । तर, राजनीतिक रुपमा चाहीँ उहाँहरु फेलियर मान्छेहरु हुन्,’– उनले भने ।
साथै, लिङ्देन र थापाले पूर्वराजालाई पटक–पटक झुक्याएको कारण आफू यो व्यवस्थाविरुद्ध बाध्य भएर आउनु परेको बताए । ‘पूर्वराजालाई सबैभन्दा बढी झुक्याएको कसले हो ? उहाँहरुले नै हो, मैले होइन । म त परिस्थिति र बाध्यताले यहाँ आएको,’– उनले भने ।
साथै, राप्रपा अध्यक्ष लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही राजसंस्था पुनर्स्थापनाका लागि इमानदार नरहेको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा अोलीले लिङ्देनलाई ६ महिनाको लागि भए पनि प्रधानमन्त्री बनाउने वचन दिएकाले लिङ्देन राजसंस्थावादीहरुको आन्दोलन तुहाउन उद्दत रहेको उनले बताए । लिङ्देन र शाहीको बारेमा आलोचना गर्दै उनले भने, ‘उनीहरु एमालेका मान्छेहरु हुन् । एमालेको भोटबाट जितेका मान्छे हुन् । केपी ओलीले तलाई छ महिना भए पनि प्रधानमन्त्री बनाउँछु भनेको छ राजेन्द्र लिङ्देनलाई । यो आन्दोलन तुहाउनु पर्छ भनेको छ । तर, ज्ञानेन्द्र शाही, राजेन्द्र लिङ्देन नआउँदा यो आन्दोलन तुहिँदैन,’– उनले भने ।
प्रतिक्रिया