जनप्रदर्शनको पहिलो प्रहार ओली सरकारको विरुद्ध होः माओवादी नेता शर्मा

0
Shares

काठमाडौं, १५ चैत । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले समाजवादी मोर्चाको आजको आन्दोलनको पहिलो प्रहार केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकारविरुद्ध रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले प्रधानमन्त्री ओली नेतृत्वको दुई तिहाइको सकरारको बेथिति र कुशासनको कारण राजावादीहरुले टाउको उठाउने अवसर पाएको बताए । पहिलो प्रहार आजको जनप्रदर्शनले ओली नेतृत्वको सरकारमाथि गर्ने उनले बताए ।

‘यो सरकारको बेथिति र भ्रष्टाचारको विरुद्ध पनि एउटा हो । अर्को चाहीँ प्रतिगमनको विरुद्ध । प्रतिगमनकारीहरुले टाउको उठाउन खोजिराखेका छन् । हाम्रो खबरदारी हो । यो त्यति सजिलो छैन । हामीले एकैचोटी दुई प्रहार गर्नुपरेको छ । यिनले टाउको किन उठाएका छन् भने केपी ओलीको दुई तिहाइको सरकारले गरेको हर्कतले गर्दा यहाँ आगोमा घिउ थप्ने काम भएको छ । राजावादीहरुलाई उक्साहट गर्ने काम यो सरकारले गरेको छ,’– माओवादी नेता शर्माले भने ।

नेता शर्माले बेथिति, भ्रष्टाचार र अनियमितताको चङ्गुलमा वर्तमान सरकार रहेको बताए । नेता शर्माले यो व्यवस्थाको नायक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै रहेको बताए । गणतन्त्र कुनै पनि सङ्कटमा नरहेको पनि उनले बताए । माओवादी केन्द्रसहितको चार दलीय मोर्चाले आज वृहत जनप्रदर्शन र खबरदारी सभाको आयोजना गरेको छ ।