काठमाडौं, १५ चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले आजको जनप्रदर्शन दुई तिहाइ बहुमत नजिकको सरकारको दम्भ र जनताको इच्छा, आकांक्षा, चाहनाविपरीतको क्रियाकलापको विरुद्ध रहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आजको जनप्रदर्शन पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिविरुद्ध भन्दा पनि सरकारको गलत क्रियाकलाको विरुद्धमा रहेको बताएका हुन् ।
‘पछिल्लो चरण पश्चगामी शक्तिहरु अस्वभाविक रुपमा सल्बलाइराखेका छन् । नेपाली जनता यो व्यवस्थाको पक्षमा छन् । यो व्यवस्थालाई अझ सुदृढ गरेर जान चाहन्छन् भन्ने कुरा र अहिलेको दुई तिहाइ बहुमत नजिकको दुई ठूला दलको सरकारले संख्याको बहुमतको आधारमा दम्भ देखाएर जनताको इच्छा, आकांक्षा, चाहनाविपरीतको क्रियाकलाप गरिराखेको छ । त्यसको खबरदारी गर्न हो आजको विरोध सभा,’– उनले भने ।
साथै, पूर्वराजा ज्ञानेन्द्र आम सर्वसाधारणजस्तो देशको एउटा नागरिक रहेको बताउँदै उनले आजको विरोधसभा विशेषतः उश्रृङ्खलता र अराजकता रोज्नेहरुको विरुद्ध रहेको बताए । वर्तमान सरकारले कुशासनको बाटो रोजिरहेकाले लयमा फर्किन आफूहरुले खबरदारी गर्न लागेको पनि उनले बताए । ‘ज्ञानेन्द्र शाह त तपाईँ हामीजस्तै नागरिक हुन् । तिनीसँगको त के कुरा भयो र ? पश्चगामी शक्तिहरुले उश्रृङ्खलता र अराजकता रोजिराखेका छन् । यो ठीक छैन भनेर हामी चुनौति दिन चाहन्छौं । सरकारले कुशासनको बाटो रोजिराखेको छ । लयमा फर्किनको लागि खबरदारी गर्ने,’– उनले भने ।
प्रतिक्रिया