काठमाडौं, १५ चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले कुलमान घिसिङ बर्खास्तगी प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् नचल्ने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कुलमान बर्खास्तगी प्रकरणमा प्रधानमन्त्री स्वयं संसद्मा उभिएर चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका हुन् ।
‘मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङजीलाई बर्खास्त गर्ने निर्णय गरेको हुनाले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर जवाफ दिनुपर्छ । उहाँले चित्तबुझ्दो जवाफ नदिँदासम्म संसद्को अवरोध कायमै रहन्छ । किनभने संसद्मा हामी बोलिरहने, उफ्रिरहने, सरकारलाई केही नुनपानी नलाग्ने हो भने त्यो संसद् चल्नुको अर्थ के रह्यो र ? किनभने हामीले संसद्मा बोलेको कुराहरुको यो सरकारले कुनै पनि रेस्पोन्स नगर्ने भएपछि के अर्थ रह्यो,’– उनले भने ।
सरकार अहिले उल्टो बाटोमा हिँडिरहेको पनि उनले बताए । आम जनतामा रहेको असन्तुष्टि सम्बोधन गर्ने, व्यवस्थाविरोधी प्रतिगामी हर्कतलाई परास्त गर्नेलगायतका कामतिर सरकारको ध्यान पुग्न नसकेको उनले बताए । वर्तमान सरकार विभिन्न प्रकारका जालझेल र षड्यन्त्रमा मस्त रहेको उनले बताए ।
‘स्याललाई दशा लाग्यो भने सहर छिर्छ भन्थे । यो सरकारलाई दशा लागेको हो कि के हो ? हामीले बुझेका छैनौं । उल्टो बाटो हिँडिरहेको छ । मान्छे असन्तुष्ट छन्, तिनलाई कसरी सन्तुष्ट बनाउने, व्यवस्थाको विरुद्धमा षड्यन्त्र र प्रतिगामी हर्कतहरु भइराखेका छन् । त्यसलाई कसरी परास्त गर्ने ? लोकतन्त्र–गणतन्त्रवादीहरु एकतावद्ध भएर कसरी जाने ? त्यतातिर कुनै ध्यान छैन । विविध प्रकारका जालझेल षड्यन्त्र यो सरकारले गरिराखेको छ,’– उनले भने । File Photo/RN
प्रतिक्रिया