काठमाडौं, १५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहले आफूहरु दुर्गा प्रसाईँले आयोजना गरेको जनप्रदर्शनमा सहभागी हुने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नै सबै सांसदहरुलाई उक्त आन्दोलनमा सहभागी हुन निर्देशन दिइसकेको बताए । ‘पार्टीबाट स्वयं अध्यक्षले हामी सांसदहरुलाई पनि भाग लिनु भनेर हिजो हामीलाई भनिसक्नु भएको छ,’– उनले भने ।
नेता सिंहले आन्दोलन जसले गरेपनि राप्रपाले विगतदेखि बोकेर हिँडेको एजेण्डा बोक्नेहरुसँग आफूहरुको सहकार्य हुने उनले बताए । ‘आन्दोलन जसले गरे पनि, जुन मुद्दा राप्रपाले वर्षौंदेखि बोकिराखेको छ । त्यो मुद्दा प्रचण्डले बोकेर म आन्दोलन गर्छु भने पनि राप्रपा पहिलो पंत्तिमा हुन्छ । यो आन्दोलन जनआन्दोलन हो । जनताले राजालाई स्थापित गर्नका लागि यो आन्दोलन गरेको छ,’– उनले भने ।
संघीयता खारेजी, राजा र हिन्दु राष्ट्रसहितको व्यवस्था आफूहरुको अडान कायमै रहेको उनले बताए । आज हुने जनप्रर्दशन ट्रेलरमात्रै रहेको उनको भनाइ छ । त्यही ट्रेलर देखाउँदामात्रै गणतन्त्रवादीहरु आत्तिएर बर्बराउन थालेको उनले बताए । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँको नेतृत्वमा आज तीनकुनेमा जनप्रदर्शन हुँदैछ ।
प्रतिक्रिया