राजावादी समर्थक र प्रहरीबीच धकेलाधकेल, मुठभेडको सम्भावना बढ्यो

0
Shares

काठमाडौं, १५ चैत । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनमा राजावादी समर्थक र प्रहरीबीच धकेलाधकेल भएको छ । काठमाडौंको तीनकुनेमा केहीबेर अघिदेखि सुरु भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले सुरक्षा घेरा तोडेर बानेश्वरतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको हो ।

राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा र संघीयता खोरेजीको मागसहित उनीहरुले प्रदर्शन गरेका हुन् । सो कार्यक्रममा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजवादी र हिन्दु राष्ट्रका पक्षधर विभिन्न संघ संस्थाहरुको समर्थन रहेको छ ।

सम्भावित सुरक्षा खतरालाई ध्यानमा राखेर तीनकुने क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । प्रसाईँ नेतृत्वको सो आन्दोनलाई तीनकुने क्षेत्रमा मात्रै सीमित गरिएको छ । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेका छन् । प्रहरी र राजावादीहरुको घम्साघम्सीले मुठभेड निम्त्याउने खतरा बढाएको छ ।