गण्डकी, १५ चैत । नेपाल पत्रकार महासङ्घको ७०औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाउन सुरु गरिएको छ ।
शनिबार परेको दिवसको पूर्वसन्ध्यामा महासङ्घका जिल्ला शाखाले आ–आफ्नै मौलिकतामा कार्यक्रम आयोजना गरेका हुन् । म्याग्दी शाखाले बिहीबार धवलागिरि क्षेत्रमा क्रियाशील पत्रकारबीच मैत्रीपूर्ण फुटसलको आयेजना ग¥यो । उक्त खेलमा महासङ्घको बागलुङ शाखा विजयी बन्यो । चार टोली सहभागी खेलमा उपविजेताको उपाधि पनि बागलुङ शाखाकै अर्को टोलीले हात पा¥यो ।
सर्वाधिक गोलकर्ताका रुपमा बागलुङ शाखाका सङ्गम घर्तीमगर र उत्कृष्ट खेलाडीमा विजयी राना घोषित भए । विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिए । उनले पत्रकारबीचको एकता र भाइचारा अभिवृद्धिसहित खेलकुद प्रवद्र्धनको सन्देश दिन फुटसल आयोजना गरिएको बताए । महासङ्घको स्थापना दिवस पारेर पत्रकारको दुर्घटना बिमा, स्वास्थ्य परीक्षण, सहयोग हस्तान्तरणलगायत कार्यक्रम गर्न लागिएको अध्यक्ष गौतमले बताए ।
महासङ्घ बागलुङ शाखाले पनि आजदेखि दुई दिनसम्म विविध कार्यक्रमसहित स्थापना दिवस मनाउन लागिएको जनाएको छ । बागलुङ शाखाका सचिव नारायण रिजालका अनुसार आज सरसफाइ, वृक्षरोपण, पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ नगर स्वास्थ्य शाखा र युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल), धवलागिरिको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण गर्न लागिएको उनको भनाइ छ ।
कार्यक्रममा मिर्गौला, मधुमेह, युरिक एसिड, कोलेस्ट्रोल बिएमआइ (बडी मास इन्डेक्स) उच्च रक्तचाप जाँच, पाठेघरको मुखको स्क्रिनिङलगायत गरिने भएको छ ।
डिभिजन वन कार्यालय बागलुङसँगको सहकार्यमा महासङ्घको कार्यालय परिसरमा वृक्षरोपण तथा सरसफाइ सचेतना कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।
स्थापना दिवसको मुख्य दिन शनिबार प्रभातफेरीसहित चियापानको आयोजना गरिएको सचिव रिजालले बताए ।
स्थापना दिवसको अवसर पारेर कास्की शाखाले अदालती रिपोटिङ र पर्वत शाखाले पत्रकार डिजिटल साक्षरता एवं रुपान्तरणकारी नेतृत्व विकास कार्यक्रम आयोजना गरेको छ । पोखरा र पर्वतको कुश्मामा गरी दुई दिनसम्म ती तालिम सञ्चालन हुनेछन् । गण्डकी प्रदेशका अन्य जिल्ला शाखाले पनि विविध रचनात्मक कार्यक्रमसहित महासङ्घको स्थापना दिवस मनाउन लागेका हुन् । रासस
प्रतिक्रिया