काठमाडौं, १५ चैत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बचेकुचेका समान्तवादीहरुको सपना पूरा नहुने बताएका छन् । आज (शुक्रबार) समाजवादी मोर्चाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै विप्लवले जनताको बलद्वारा धुलो परिएका सामन्ती तत्वहरुको विरुद्धमा आफूहरु निरन्तर लागिरहने बताए । तिनै सामन्ती तत्वहरुले षड्यन्त्र गरिरहेको पनि महासचिव विप्लवले बताए । उनले नेपाली जनतालाई सामन्ती व्यवस्थाको खाँचो नरहेको बताए ।
नेपालमा अब राजतन्त्र सम्भव नरहेको उनको दाबी छ । ‘तपाईँ ढुक्क हुनुस्, त्यो सम्भव छैन । नेपालमा सम्भव छैन, ढलेको, ध्वस्त भएको शासन फर्केर आउन सम्भवभ छैन । हामी सचेत छौं, जागरुक छौं । यहाँ बजारमा अनेकौं हल्ला, काटमार, बम पड्किन्छ । श्वेत उग्रवादीहरुको विभिन्न खालका अराजकताहरु र हल्ला सुनिरहेका छौं । कोही पनि चिन्तित हुनु जरुरी छैन । धेरै मच्चिन हुँदैन । मच्चेपछि थचारिनुपर्छ । त्यसैले हामी कोही पनि विचलित हुन जरुरी छैन । देशलाई समाजवादतिर लाने हो । देशले वर्षौंदेखि चाहेको विकल्प भनेको समाजवाद हो । समाजवादको विकल्पमा जानुपर्छ । हामी तयार छौं,’– विप्लवले भने ।
प्रतिक्रिया