संयुक्त जनआन्दोलन परिचालन समितिले भन्योः देश संक्रमणकालमा प्रवेश गर्यो, स्थिति थप भयावह हुने निश्चित छ

0
Shares

काठमाडौं, १५ चैत । तत्कालीन राष्ट्रय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीको नेतृत्वमा रहेको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले देश संक्रमणकालमा प्रवेश गरेको उद्घोष गरेको छ । आज (शुक्रबार) प्रदर्शनको क्रममा भएको झडप र त्यसबाट उत्पन्न भएको परिस्थितिलाई उल्लेख गर्दै समितिले अब स्थिति थप भयावह हुने निश्चित रहेको बताएको छ ।

संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको छ । गणतन्त्र कागजमा मात्र सीमित रहेको छ । यस अवस्थालाई ध्यानमा राखी पूरानो संसदीय व्यवस्थावादीहरुले नयाँ सहमतिको मार्ग प्रशस्त नगर्ने हो भने स्थिति थप भयावह हुने निश्चित रहेकोले तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न, राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघसंस्थाहरु समेतलाई स्थितिको गम्भीर र विवेकपूर्ण पर्यवेक्षण गरिदिन समेत आह्वान गर्दछौं ।’

साथै, उनले राजसंस्था पुनर्स्थापनाका लागि शुरु भएको शान्तिपूर्ण जनआन्दोलनमा सत्ताधारीहरुबाट घुसपैठ भएको दाबी गरेका छन् । आजको सम्पूर्ण घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने समितिको माग छ । आन्दोलन अब सरकारले तोकिदिएको क्षेत्रमा मात्रै सीमित नरहने पनि समितिको चेतावनी छ । समितिले घाइते आन्दोलनकारी, प्रहरीहरुको तत्काल निःशुल्क उपचार गर्न तथा क्षति पुगेका व्यवसायीहरुका लागि क्षतिपूर्तिको तत्काल व्यवस्था गर्ने सरकारलाई भनेको छ ।