रिपोर्टर्स क्लब नेपालद्वारा यो वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार डा. जगत नेपाललाई प्रदान गर्ने घोषणा

0
Shares

काठमाडौं, १५ चैत्र । रिपोर्टर्स क्लब नेपालले यो वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार एवम् त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. जगत नेपाललाई दिने घोषणा गरेको छ । क्लबका संस्थापक सभापति ऋषि धमलाको सभापतित्वमा आज (शुक्रबार) अपरान्ह बसेको पुरस्कार छनौट समितिको बैठकले यस्तो निर्णय लिएको हो ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित यस पुरस्कारको राशि एक लाख रहेको छ । क्लबको यही चैत्र १७ गते मनाईने २७औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट यो पुरस्कार प्रदान गरिनेछ । डा. नेपाल विगत तीन दशकदेखि सक्रिय पत्रकारिता र प्राध्यापनमा छन् । उनले आफ्नो पत्रकारिताको यात्रा भने सन् १९९७ मा सुरुचि साप्ताहिकमार्फत थालनी गरेका हुन ।

उनले विमर्श साप्ताहिकमा उप–सम्पादक, रेडियो नेपालमा रिपोर्टर, कान्तिपुर टेलिभिजनमा रिपोर्टर (सन् २००३–२००८), कान्तिपुर टेलिभिजनमा समाचार संयोजक (सन् २००८–२०१५), कान्तिपुर टिभीमा पोलिटिकल ब्यूरो चिफ (सन् २०१५–२०१९) भएर काम गरिसकेका छन् । नेपालले वीपीको विद्रोह (२०१९), पहिलो संसद : बीपी–महेन्द्र टकराव (२०१६) आफ्नै कुरा (गिरिजाप्रसाद कोइरालाको आत्मवृतान्त २०११), सदन, सत्ता र सडकमा नेपाली कांग्रेस (२००६) लगायतका पुस्तक प्रकाशित छन् । यस्तै, उनले सन् २०२२ मा राजद्रोही राजनेता नामक डकुमेन्ट्री फिल्मसमेत ल्याएका थिए । पत्रकार नेपाल पत्रकारिता र आम सञ्चार विषयमा स्नातकोत्तरका गोल्ड मेडलिष्ट हुन् ।

नेपाल पत्रकार महासंघको सचिव र संसदीय मामिला पत्रकार समाजको केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरिसकेका पत्रकार नेपालले भारत, पाकिस्तान, थाइल्याण्ड, बेल्जियम, फ्रान्स, लक्जम्वर्ग, नेदरल्याण्ड, स्पेन, स्वडेन, स्विट्जरल्याण्ड, अष्ट्रेलिया, चीन र अमेरिकालगायतका देशको भ्रमण गरिसकेका छन् ।