प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा, शान्ति सु-व्यवस्था कायम गर्न नसकेको आरोप

0
Shares

काठमाडौं, १५ चैत्र । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । आजपा अध्यक्ष साहले आज साँझ एक विज्ञप्ती जारी गर्दै पछिल्लो घट्नाक्रमको नैतिक जिम्मेवारी लिँदै नयाँ निकासका लागि प्रधानमन्त्री ओलीले राजीनामा मार्गप्रशस्त गर्नुपर्ने माग गरेका हुन् । उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार शान्ति तथा सुव्यवस्था कायम गर्न असफल भैसकेको दाबी गरेका छन् ।

’वर्तमान सरकारले शान्ति सुव्यवस्था कायम गर्न नसकेर आज देशको राजधानी काठमाडौंमा ठुलो जनधनको क्षति भएको छ । पत्रकार सुरेश रजक र सविन महर्जनको दुःखद निधन एवं कयौ व्यक्ति घाइते भएका छन । सरकारको अलोकतान्त्रिक रवैया, उदासिनता एवं निकम्मापनकै कारण जनतामा चरम असन्तुष्टि एंव आक्रोश बढ्दो छ”, आजपा अध्यक्ष साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै उनले विपक्षी दलहरूको अवरोधको कारण सिंगो संसद् ठप्प रहेको र सत्तागठबन्धन भित्रको बिवादले आफैले ल्याएको अध्यादेश होल्ड गर्नुपरेको, देशको आर्थिक सूचांक सम्पूर्ण नकरात्मक रहेको, संविधान कार्यान्वयन तथा शान्तिप्रक्रिया समेत अवरुद्ध भएको, अन्तराष्ट्रिय कुटनीति सम्बन्ध पनि मृत भएको, सुशासन, स्थिरता एंव बिकासमा समेतमा सरकार असफल देखिएको तथा आफ्नै कार्यसम्पादन मूल्यांकनमा पनि फेल भएकाले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने साहको तर्क छ । पछिल्लो समय बसेको आजपा पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै मुलुकको संकट समाधानका लागि अन्तरिम सरकार गठनको माग गरेको थियो ।