गणतन्त्र विरोधी गतिविधि कायम रहेमा कडा प्रतिरोध गर्ने ६ दलनिकट युवा संगठनहरुको चेतावनी

14
Shares

काठमाडौं, १५ चैत । संविधान विपरीतका गतिविधि गर्ने, समाजमा विखण्डन ल्याउने, हिंसा भड्काउने र गणतन्त्र विरोधी षड्यन्त्र गर्ने समूह वा व्यक्तिलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन छ दलनिकट युवा संगठनहरुले माग गरेका छन् । नेपाली कांग्रेसनिकट युवा संगठन नेपाल तरुणदल, नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल, नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाललगायत ६ दलनिकट युवा संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ अपराधजन्य गतिविधि कायम रहेमा कडा प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।

साथै, सम्पूर्ण आम नागरिकलाई लोकतान्त्रिक प्रणालीलाई अझै सम्बृद्ध गर्न, कमीकमजोरी सच्याउने खबरदारी गर्न, सामाजिक स्थायित्व र समृद्धिका लागी व्यवस्था विरुद्ध हुने यस्ता अपराधजन्य कार्यप्रति सचेत रहनसमेत आह्वान गरिएको छ ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा आज तीनकुनेमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । सो क्रममा दुई जनाको मृत्यु भएको छ भने व्यवसायिक भवन, नीजी भवन, मिडिया हाउसमा समेत तोडफोड र आगजनी भएको छ । छ दलनिकट युवा संगठनहरुले उक्त विरोधको भर्त्सना गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र कुनै पनि प्रतिगामी शक्तिको षड्यन्त्रबाट नढल्ने र यसलाई अझ सशक्त रूपमा संस्थागत गर्न निरन्तर कार्य गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।