कमजोर राज्य संयन्त्रः राजावादी समूहका ‘जनकमाण्डर’ दुर्गा प्रसाईँ अझै फरार

0
Shares

काठमाडौं, १६ चैत । तीनकुनेको हिंसात्मक प्रदर्शनमा राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले ‘जनकमाण्डर’ बनाएर फिल्डमा पठाएको दुर्गा प्रसाईँलाई नेपाल प्रहरीले अझ भेटाउन सकेको छैन । हिजोदेखि प्रहरीले खोजी गरिराखेको भएपछि प्रसाईँ अझै पक्राउ परेका छैनन् । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका प्रवक्ता रहेका अधिवक्ता भद्रप्रसाद नेपाल उर्फ स्वागत नेपाल भने पक्राउ परिसकेका छन् ।

पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेरसहित एक सय १० जना पुगेका छन् । निषेधित क्षेत्रमा तोडेर आफैंले चलाएको गाडीमा हुइँकिएका प्रसाईँ कहाँ छन् भन्ने प्रहरीले सुइँकोसमेत पाउन सकेको छैन ।

उक्त हिंसात्मक आन्दोलनका क्रममाएक जना प्रदर्शनकारी र एक जना पत्रकारको मृत्यु भएको छ भने नेपाल प्रहरीतर्फ ५३ जना र सशस्त्र प्रहरी बलतर्फ २२ जना घाइते भएका छन् । त्यस्तै, प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका छन् ।

प्रदर्शनकारीहरुले विभिन्न ९ वटा निजी तथा सार्वजनिक कार्यालयहरुमा तोडफोड, १४ ठाउँमा आगजनी गरेका छन् । उनीहरुले कोटेश्रमा रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाटसमेत गरेका थिए ।

प्रसाईँ प्रहरीको सुरक्षा घेरा तोडेर भाग्न सफल हुनु र अहिलेसम्म पक्राउ नपर्नुले देशको सुरक्षा संयन्त्रमाथि नै गम्भीर प्रश्नचिन्ह खडा भएको छ । File Photo/RN