काठमाडौं, १६ चैत । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष, वरिष्ठ पत्रकार ऋषि धमलाले लोकतन्त्रमाथिको प्रहार नेपाली सञ्चार जगतले स्विकार नगर्ने बताएका छन् । आज (शनिबार) पत्रकार महासंघले माइतीघर मण्डलामा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताए । नेपाली सञ्चार जगतले लोकतन्त्रमा सबैले विचार राख्न पाउनुपर्छ भनेर राजावादीहरुलाई पनि स्थान दिएको पनि उनले बताए ।
‘हामीले राजावादीहरुलाई पनि ठाउँ दिएका थियौं । किनभने लोकतन्त्रमा सबैले विचारहरु राख्न पाउनुपर्छ । तर, लोकतन्त्रमाथिको प्रहार सञ्चार जगतले स्विकार्दैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । राजसंस्था हुन सक्दैन । राजावादीहरुको त्यो दिवास्वप्न छ भने आजैबाट त्याग्न म आग्रह गर्न चाहन्छु,’– पत्रकार धमलाले भने ।
साथै, नेपाली सञ्चार जगतलाई आक्रमण गरेर चाहना पूरा हुन्छ भन्ने दिवास्वप्न त्याग्न उनले राजावादीहरुलाई आग्रह गरे । पत्रकार धमलाले नेपाली सञ्चार जगतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई घुँडा टेकाएको पनि स्मरण गरे । धमलाले सञ्चार क्षेत्रको सुरक्षाको जिम्मेवारी लिन सरकारलाई आग्रह गरे ।
हिजो (शुक्रबार) भएको राजावादी समूहको प्रदर्शनमा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । उक्त घटनाको विरोधमा आज महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया