काठमाडौं, १६ चैत । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले राजावादी समूहरुले काठमाडौंको तीनकुनेमा घटाएको हिंसात्मक घटनाको पृष्ठभूमिमा सरकार र प्रहरी प्रशासन गम्भीररुपले असफल भएको बताएका छन् । आज विज्ञप्ति जारी गर्दै अध्यक्ष महतोले प्रदर्शनकारीहरूले आगजनी र लुटपाट गर्दा सुरक्षा निकायहरू निष्क्रिय रहेको र केही सुरक्षा अधिकारीहले प्रदर्शनकारीलाई उक्साउने भूमिका निर्वाह गरेको आरोप पनि रहेको बताएका छन् ।
आगजनी हुँदै गरेको देखेर पनि प्रहरीले पत्रकार सुरेश रजकलाई नबचाएर लापरवाही गरेको अध्यक्ष महतोले बताएका छन् । त्रासदीपूर्ण घटनाबाट बच्न समयमै अराजक भीड नियन्त्रण नलिइएको भन्दै उनले आपत्ति जनाएका छन् । अध्यक्ष महतोले उक्त घटनाको सबै जिम्मेवारी गृहप्रशासनले लिनुपर्ने र अपराधीहरुलाई कडा कारबाही हुनुपर्ने बताएका छन् ।
‘सम्पूर्ण नैतिक जिम्मेवारी गृहप्रशासनले लिनु पर्दछ । घटनाको निष्पक्ष छानबिन गरी यसमा जोडिएका सबै अपराधीहरूमाथि कडा कानूनी कारबाही गर्नुपर्छ,’– अध्यक्ष महतोले विज्ञप्तिमार्फत भनेका छन् ।
कुनैपनि हिंसा, प्रतिहिंसा, अराजकता वा लोकतान्त्रिक मुल्य मान्यताविरोधी गतिविधिलाई बहाना बनाउने वा कसैलाई बनाउन दिन नहुने अध्यक्ष महतोको भनाइ छ । उनले संयम, सहिष्णुता र विधिको शासन कायम गर्नसमेत आग्रह गरेका छन् ।
प्रतिक्रिया