‘रोयल टास्क फोर्स कमान्डर’ राजभण्डारी पक्राउ, ‘जनकमाण्डर’ प्रसाई अझै बेपत्ता

0
Shares

काठमाडौं, १६ चैत । राजावादी समूहका आन्दोलनकर्ता एवं ‘रोयल टास्क फोर्स कमान्डर’ मुनिन्द्र राजभण्डारी पक्राउ परेका छन् । प्रहरीले आज (शनिबार) उनलाई बालाजु क्षेत्रबाट पक्राउ गरेको हो । हिजो (शुक्रबार) तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा उनको संलग्नता रहेकाले उनलाई पक्राउ गरिएको बताइएको छ । राजभण्डारी नेपाली सेनाका अवकाशप्राप्त सहसेनानी हुन् ।

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । त्यसैगरी आन्दोलनका क्रममा नेपाल प्रहरीतर्फ ५३, सशस्त्र प्रहरीतर्फ २२ र ३५ जना प्रदर्शनकारी घाइते भएका थिए । प्रदर्शनकारीहरुले ठूलो मात्रामा तोडफोड, आगजनी र लुटपाट मच्चाएका थिए ।

सो प्रदर्शनका मुख्य ‘जनकमाण्डर’ तोकिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भने अझैं फरार छन् । प्रहरीले उनलाई हिजोदेखि नै खोजी गरिरहेको भएपनि अझै पक्राउ परेका छैनन् । प्रहरीको सुरक्षा घेरा तोडेर भागेका प्रसाईँ कहाँ लुकेका छन् भन्ने कुरामा सुरक्षा संयन्त्र अझै बेखबर छ ।