काठमाडौं, १६ चैत । ललितपुर बार एशोसिएशनले काठमाडौंका तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका दोषीउपर कानुनबमोजिम हदैसम्मको कारबाहीको माग गरेको छ । ललितपुर बारले उक्त घटनाको निष्पक्ष छानविन गर्न र दोषीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न माग गरेको हो ।
ललितपुर बारका सचिव अधिवक्ता छोनम मोक्तानले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उक्त घटनाको निष्पक्ष छानविन गरी दोषीउपर कानुनबमोजिम हदैसम्मको कारवाही गर्न ललितपुर बार एशोसिएशन नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’
राजावादी समूहले गरेको प्रदर्शनका क्रममा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । ललितपुर बारले सो घटनाका मृतकहरुप्रति श्रद्धान्जली एवं शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । मृतकका परिवार तथा भौतिक क्षति भएका सर्वसाधरण र अधिवक्ता राज कुमार सुवालको ल फर्म समेतको उचित क्षतिपुर्ति प्रदान गर्नसमेत माग गरिएको छ ।
राज्यले समयमा नै पर्याप्त सुरक्षा व्यवस्था अपनाउन नसक्दा भौतिक तथा मानवीय क्षति भएको ठहर गर्दै ललितपुर बारले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिई नागरिकको संवैधानिक, कानूनी र मानवअधिकारको पूर्ण प्रत्याभूति गराउन नेपाल सरकारसमक्ष अपिल गरेको छ ।
प्रतिक्रिया