काठमाडौं, २० चैत । परराष्ट्रविद् एवं राजनीतिक विश्लेषक डा.लोकराज बरालले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) लाई लिएर छिमेकी मुलुक भारत नेपालसँग चिढिएको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाल र भारत सरकारका बीचमा बीआरआईको सन्दर्भमा असमझदारी भएको हुनसक्ने बताएका हुन् । उनले नेपालीहरुले कुनै–कुनै मुद्दामा अधिक राष्ट्रवाद देखाउँदा नेपालको परराष्ट्र नीति सन्तुलित हुन नसकेको बताएका हुन् ।
‘बीआरआई सम्झौतामा उनीहरु अलिकति नखुसी छन् । नक्साको कुरामा संसद्ले पास गर्यो । लिम्पियाधुरासम्म भन्नेर उचालेर राष्ट्रवाद जगाउने कुराहरुमा । अब हामी धेरै उफ्रिन्छौं पहिला अनि थच्किन्छौं । सबै काम बिग्रिन्छ अनि कूटनीतिको कुरा गर्ने । बीआरआईको सन्र्दभमा अलिकति असमझदारी भएको हुनसक्छ । नेपाल–भारत सम्बन्ध राम्रो हुनुपर्छ,’– उनले भने ।
साथै, नेपाल हिन्दूराष्ट्र भए हुन्थ्यो भन्ने भारतको सद्भाव रहेपनि उसले नेपालमा राजसंस्था फर्काउन सहयोग गर्छ भन्नेमा आफूलाई विश्वास नरहेको उनले बताए । परराष्ट्रविद् बरालले भने, ‘एउटा व्यक्तिलाई, त्यो पनि फालिएको व्यक्तिलाई फेरि स्थापना गर्नका लागि किन साथ दिने भारतले भन्ने मेरो भनाइ हो ।’
साथै, गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहको हात रहेको पनि उनले बताए । ‘नभएको भएदेखि उनकै नाममा सबै भइरहेको छ । उहाँको त कानुनी रुपमले कसरी स्थापित हुन्छ ? हामीले हेर्दाखेरी उसैले गराएको हो, धर्मको नाममा,’– परराष्ट्रविद बरालले भने ।
प्रतिक्रिया