जनतालाई लाचार बनाएर नेताहरू मालामाल भए : प्रभु साह

294
Shares

भक्तपुर, २० चैत्रध । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढ्दै गईरहेको संकटको एकमात्र समाधान तेस्रो जनआन्दोलन भएको बताएका छन् । दलाल एवं लुटकारी दलतन्त्रले देशलाई दलदलमा फसाएकाले तेस्रो जनआन्दोलनमा सहभागिताका लागि आम जनतालाई अपिल गरेका छन् ।

आजपाद्धारा भक्तपुर र काठमाडौंको बालाजुमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले दलाल एवं लुटकारी व्यवस्थाका कारण दलाल नेताहरुले देशलाई दलदलमा फसाएको आरोप लगाएका हुन् ।

‘अहिले मुलुक गम्भीर संकटमा छ । लुटकारी एवं दलाल दलतन्त्रका कारण जताततै लुट मच्चिएको छ । भ्रष्टाचार, अनियमितता, कुशासन बढ्दै गएको छ । नेताहरु मालामाल भएका छन्, जनता लाचार भएका छन्’,साहले भने, ‘अहिलेको संकटको एकमात्रै समाधान भनेको तेस्रो जनआन्दोलन हो । चैत २४ गते भृकुटीमण्डपमा जाऔं र यो दलाल दलतन्त्रको बिरुद्ध एकजुट होऔं ।’

ृउनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली असफल भैसकेको दाबी गरे । यो असफल सरकारका कारण मुलुकको आर्थिक अवस्था संकटमा पुगेको साहको आरोप छ । भ्रष्टाचार, लुट, मनोमानी कर आतंक बढेको बताउदै लुटकारी व्यवस्थालाई कहिलेसम्म बोक्ने भन्दै उनले प्रश्न गरे ।

सरकारमा भएकाहरु लुट, भ्रष्टाचार, अनियमिततामा लागेको गम्भिर आरोप लगाउदै साहले उनीहरुबाट केही आश गर्नु बेकार रहेको टिप्पणी गरे । लुटकारी दलाल दलतन्त्रका कारण मुलुक बर्बाद भईरहेको बताउदै पूर्वमन्त्री साहले नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन आवश्यक भएको बताए । उनले आम जनताको शासन व्यवस्थाका लागि तेस्रो जनआन्दोलन सफल बनाउनुपर्ने बताए ।

लुटकारी दलतन्त्र बिरुद्ध २४ चैतमा काठमाडौंमा हुने तेस्रो जनआन्दोलनको तयारीका लागि भर्खरै रौतहट, बारा र पर्सामा आयोजित बिभिन्न कार्यक्रममा सहभागि भएर काठमाडौं आएका साह बालाजु, भक्तपुर, बुद्धनगरसहितका बिभिन्न ठाउँमा तेस्रो जनआन्दोलन सफल बनाउने रणनीतिसहित भेला तथा अन्तरक्रियामा सक्रिय भएका छन् ।

आजपानिकटको युवा, विद्यार्थी, महिला, मजदुरलगायतका विभिन्न संगठनहरुको आन्तरिक बैठक बस्दै आन्दोलनको तयारीमा जुटेको विद्यार्थी मोर्चाका सचिव प्रिन्स साहले जनाएका छन् ।