पिठो तथा इन्धनको अभावमा गाजाका बेकरी बन्द

126
Shares

गाजा, २० चैत । गाजा पट्टीका बेकरीहरूमा पिठो तथा इन्धनको अभावका कारण उत्पादन रोकिएको छ । इजरायली नाकाबन्दीले गर्दा सङ्कटग्रस्त गाजाबासीहरूबीच अनिकालको सम्भावित प्रभावबारे थप चिन्ता बढेको छ ।

गाजाको बेकरी मालिक सङ्घका प्रमुख अब्देल नासेर अल अजरामीले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) द्वारा अनुदानप्राप्त बेकरी सोमबार र अन्य बेकरीमा मङ्गलबारदेखि उत्पादन बन्द भएपछि चरम भोकमरीको सम्भावना बढेको बताएका छन् ।

उनले डब्लुएफपीले पिठोलगायत भण्डारणका सामानको न्युनताको सुचना जारी गरेसँगै बेकरीहरू बन्द भएपछि सयौं हजार परिवारहरूको खानाको मुख्य स्रोत बन्द भएको जनाइएको छ ।

अल अजरामीले गाजाको स्थिति अत्यन्त खतरनाक भएको जनाउदै आधारभूत सामग्रीहरू वितरण गर्न कुटानपिसान उदोगहरू तुरुन्तै नखोलिए प्रकोप थप बढ्ने बताएक छन्।

उनले अन्तर्राष्ट्रिय समुदाय र मानवीय संस्थालाई इजरायललाई क्रसिङहरू पुनः खोल्न र मानवीय सङ्कटको बढ्दो अवस्थालाई रोक्न खाद्य पदार्थ र इन्धनको बाटो अनुमति दिन दबाब दिन आग्रह गरेका छन् ।

हालसालै जारी संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले गाजा अनिकालको प्रारम्भिक चरणमा प्रवेश गरेको सङ्केत गरेको छ जहाँ २० लाखभन्दा बढी मानिसहरूले खाद्यान्नको स्रोत पूर्ण रूपमा गुमाएका छन् ।

यस क्षेत्रमा इजरायली आक्रमण बन्द नभएसम्म आगामी दिन विनाशकारी र खतरनाक हुन सक्ने विज्ञहरूले बताएका छन् । रासस