झापा, २० चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले केपी ओली नेतृत्वको वर्तमान सरकार ढल्न लागेपनि दुर्गा प्रसाईं अक्सिजन बनेको दाबी गरेका छन् । झापाको बुद्धशान्ति गाउँ कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै नेता किरातीले यस्तो बताएका हुन् ।
उनले नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट कुलमान घिसिङलाई नियोजित रुपमा अपदस्थ गरेसँगै भ्रष्टाचार र बेथितिले चौतर्फी घेरिएको ओली सरकार ढल्नै लागेको थियो भन्ने खुलासा गरेका छन् ।
राजावादीहरुको चैत्र १५ गतेको तिनकुने घटनालाई देखाएर आफ्नो संकटलाई मोड्न वर्तमान सरकार सफल भएको उनको दाबी छ । उनले भने,‘मलाई लाग्छ दुर्गा प्रसाईलाई भित्रभित्र केपी ओली सरकारले धन्यवाद दिएको छ।’
किरातीले तिनकुने घट्नाका नाइके भनेर चिनिएका दुर्गा प्रसाईंलाई सरकारले नै गिरफ्तार नगरेको आरोप लगाएका छन् । उनले आज गणतन्त्रमाथि खतरा देखाउँदैै भ्रष्टाचारको कुरूप अनुहार छोप्ने काम भएको भन्दै कडा आलोचना गरेका छन् ।
उनले प्रतिगमनको अराजकता बढ्दै गए हिन्दु गणतन्त्रमा कथित नविन सम्झौतामा गर्ने तयारी भएको पनि गम्भीर आरोप लगाएका छन् । उनले भने,‘यो ओली सरकार एकै गोलीबाट दुई शिकार गर्ने रणनीतिमा छ ।’ उनले हजारौं सुरक्षाको घेरा तोडेर एउटा अपराधी चार भञ्ज्याङ थिचोलेर कसरी भाग्न सक्छ भन्दै दुर्गा प्रसाईंको फरारबारे प्रश्न उठाए ।
उनले तिनकुने घट्नामा तत्काल न्यायिक आयोग बनाएर गम्भिर छानविन गर्नुपर्ने माग गरे । उनले भने,‘जो कोही अपराधीलाई कडाभन्दा कडा कानूनी कारबाही गरिनुपर्छ, तिनीहरुलाई कानुनको दायरामा उभ्याउनुपर्छ । अपराधिको कुनै जात धर्म हुँदैन्।’file photo
प्रतिक्रिया