रमण श्रेष्ठको नेतृत्वमा मात्रै बार एशोसिएशन दलको चङ्गुलबाट बाहिर निस्किन सम्भव छः अधिवक्ता नेपाल

5.5k
Shares

काठमाडौं, २० चैत । अधिवक्ता स्वागत नेपालले रमणकुमार श्रेष्ठको नेतृत्वमा मात्रै नेपाल बार एशोसिएशन दलहरुको चङ्गुलबाट बाहिर निस्किन सक्ने दाबी गरेका छन् । आज (बुधबार) व्यवसायिक कानुन व्यवसायी समूहको उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टीहरुले बारको निर्वाचनमा उम्मेदवार खडा गर्ने प्रचलनको सुरुवात व्यवसायिक कानुन व्यवसायी समूह रहेको उनले बताए । रमण श्रेष्ठले महान्याधिवक्ता, सर्वोच्चको न्यायाधीश र प्रधानन्याधीश बन्नको लागि बारको अध्यक्षको उम्मेदवार नबनेको उनले बताए ।

‘यदि यो देशको कानुनले बोल्न सक्थ्यो भने, कानुनका दफाहरु आफैंले मुद्दा हाल्न सक्थ्यो भने त्यो कानुका दफाहरुले सबैभन्दा पहिलो मुद्दा यो देशको न्यायधीशलाई हाल्ने थियो । यदि कानुनको दफाहरुले बोल्न सक्थ्यो भने दोस्रो मुद्दा वकिल स्वयंलाई हाल्ने थियो । त्यसो भन्नसक्ने एउटैमात्र मान्छे हो रमणकुमार श्रेष्ठ । त्यसैले अबको बारको नेतृत्व उहाँको टिमले गर्नुपर्छ । जुनसुकै दलमा भए पनि, कुनै पनि दलमा नभएपनि अहिलको यो बारको निर्वाचन दलहरुको चङ्गुलबाट बारलाई निकाल्ने प्रतिष्र्धा हो । यो टिमले दलको चङ्गुलबाट बार एशोसिएशनलाई निकाल्ने छ । अहिलेसम्मको उहाँहरुको प्रतिवद्धताले यो देखाएको छ । रमण कुमार श्रेष्ठ महान्याधिवक्ता बन्नका लागि बारको अध्यक्षको उम्मेदवार बन्नुभएको होईन । सर्वोच्चको न्यायधीश, प्रधानन्याधीश ताक्नलाई पनि उम्मेदवार बन्नु भएको होइन,’– उनले भने ।

साथै, बार एशोसिएशनको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रहेका विजयकुमार मिश्रलाई आफूले प्राध्यापक संघको निर्वाचनमा भोट हाल्न चाहेको पनि अधिवक्ता नेपालले बताए । यदि मिश्रले बारको निर्वाचन जितिहाले पनि उनले प्राध्यापक संघको अध्यक्ष पनि दाबी गर्नसक्ने भन्दै उनले व्यङ्ग्य गरे । File Photo/RN