शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षक, कर्मचारीलाई वार्तामा बोलायो

2.6k
Shares

काठमाडौं, २१ चैत । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षक, कर्मचारीहरुलाई वार्तामा बोलाएको छ । शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शिक्षक र विद्यालय कर्मचारीहरु काठमाडौं केन्द्रीत आन्दोलनमा होमिएका छन् । अनिश्चितकालीन आन्दोलनको घोषणासहित संघर्षमा होमिएका उनीहरुलाई सरकारले शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरुलाई वार्ताका लागि बस्न स्वागत गर्न तयार रहेको बताएको हो ।

‘विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने विधायकी प्रकृयाका सम्वन्धमा निश्चित कानूनी बन्दोबस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छ । तथापि, शिक्षक समुदायसँग विगतझैं फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार रहेकाले यसका लागि शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरुलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौं, ’– मन्त्रालयका प्रवक्ता एवम् सहसचिव शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विद्यालय शिक्षा सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेश भई छलफलको प्रकृयामा रहेको पनि मन्त्रालयले जनाएको छ । शिक्षा ऐनलाई यथाशिघ्र पारित गरियोस् भन्ने माग राख्दै शिक्षक र कर्मचारीको आन्दोलनबाट मन्त्रालयको ध्यानाकर्षण भएको बताइएको छ ।

विद्यालय शिक्षा विधेयक समयमै पारित गर्ने वातावरण श्रृजना गर्नका निमित्त सिंगो शिक्षक समुदायको पैरवी, सरोकार र ऐक्यबद्धताका बारेमा मन्त्रालय सदैव सकारात्मक रहेको र यस विषयप्रति शिक्षक तथा कर्मचारीको चासो रहनुलाई मन्त्रालयले स्वभाविक भनेको छ ।