मोदीसँग प्रधानमन्त्री ओलीको साइडलाईन वार्ता फेस सेभिङको लागि हो, भेटले निकास होला भन्ने लाग्दैन : महिन्द्र राय यादव

1.9k
Shares

काठमाडौं, २१ चैत्र । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले नेपालमा अब कुनै राजसंस्था वा राजा फर्किने सम्भावना नभएको दाबी गरेका छन् । उनले राजा भनेको नै नेपाली जनता नै भएको बताए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले थाइल्याण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गर्ने साइडलाइन भेटवार्ताले कुनै निकास नदिनेपनि दाबी गरे । उनले फेस सेभिङको लागि हुने टिप्पणी गरे ।

उनले नेपाल र भारत दुवैबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए । नेपाल र भारतबीच अहिले भएका मुद्दाहरुमा साइडलाइन भेटवार्ताले मात्रै हल नदिने र त्यसको लागि बसेर नै कुरा गर्नुपर्नेमा जोड दिए ।

उनले नेपाल सरकारले चीनसँग गरेको बीआरआई कार्यान्वयनमा जान कठिनाई रहेको टिप्पणी गरे । भारत नेपालको ठूलो साझेदार देश भएको भन्दै अहिले प्लाईवुड बन्द गर्दा नेपालमा २५ हजारले रोजगारी गुमाएको पनि स्मरण गराए । उनले अहिलेको सरकारले बीआरआईबारे स्पष्ट पारिनुपर्ने बताए । बीआरआईको नाममा झापामा भ्युटावर खोल्ने कुराले भारतको सुरक्षामा असर पर्नसक्ने उनको टिप्पणी छ ।