राजावादीहरुको क्रुरता र अमानवीय व्यवहार कुनै हिसाबले पनि क्षम्य हुनेवाला छैनः एमाले नेता भट्टराई

154
Shares

काठमाडौं, २१ चैत । नेकपा (एमाले) का नेता डा.राजन भट्टराईले राजावादीहरुको क्रुरता र अमानवीय व्यवहार कुनै हिसाबले पनि क्षम्य नरहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जथाभावी गरेर वितण्ड मच्चाउने राजावादीहरुलाई सरकारले कानुनबमोजिम कारबाही गर्ने बताएका हुन् ।

‘राजावादीहरुको आन्दोलनले वितण्ड मच्चायो । दुई जना युवाहरुको ज्यान गयो । क्रुरता र अमानवीय व्यवहार उहाँहरुबाट भयो । त्यो कुनै हिसाबले पनि क्षम्य हुनेवाला छैन । त्यसको सत्यतथ्य बाहिर ल्याएर, जो–जो त्यसको जिम्मेवार छन्, तिनीहरुलाई कारबाही गरेर, संविधान कानुन छ यो मुलुकमा । जथाभावी गर्नेहरुले सजाय भोग्छन् भन्ने कुरा सरकारले देखाउन सक्नुपर्छ,’– उनले भने ।

साथै, राजावादीहरुको हिंसात्मक प्रदर्शनको छानविनको सन्दर्भमा अहिले छुट्टै आयोग वा समितिको आवश्यकता नरहेको उनले बताए । सरकारको मेकानिजमले काम गरिरहेको अवस्थामा अर्को आयोगको आवश्यकता नहुने उनले बताए ।

‘सरकारले त्यस विषयमा काम अगाडि बढाइसकेको छ । गृह मन्त्रालयलाई छानविनको सबै काम दिइएको छ । गृहमन्त्रालयले त्यस सम्बन्धमा काम गरिरहेको छ । सकरारको मेकानिजमहरुले नै काम गरिरहेको बेलामा अर्को छानविन समिति बनाइहाल्नुपर्छ भन्ने छैन । सरकारको निकायहरु नै सक्षम भएर त्यस हिसाबले काम गर्छन् र त्यो सरकारलाई भरपर्दो लागेको छ भने त्यस हिसाबबाट पनि जान सकिन्छ,’– नेता भट्टराईले भने ।