काठमाडौं, २१ चैत । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाको शासन आफूहरुको लागि कुनै तानाशाही राजतन्त्रको भन्दा फरक नरहेको बताएका छन् । आज (बिहीबार) सात दलीय संघीय लोकतान्त्रिक मोर्चाको घोषणा सभालाई सम्बोधन गर्दै उनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको भए पनि उत्पीडित वर्गको दृष्टिकोणबाट कुनै फरक नरहेको बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको १७ वर्षमा ओली देउवा र दाहालले घुमिफिरी शासन सञ्चालन गरेको र एकल शासन सिंहदरबारमा केन्द्रीत गरेर उनीहरुले संघीयतालाई अगाडि बढाउनै नचाहेको डा.राउतको आरोप छ ।
‘हामी भन्नलाई भन्छौं– संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्यो । तर, उत्पीडित वर्गको दृष्टिकोणबाट के फरक छ ? हामीले १७ वर्षसम्म हेर्यौं– त्यही ओली, दाहाल र देउवाजी । घुमिफिरी १७ वर्षमा त तीन चार वटा राजा पनि हेरिसक्थ्यौं हामीले । ज्ञानेन्द्र हेर्थ्यौं होला, पारस हेर्थ्यौं होला, हृदयन्द्र हेर्थ्यौं होला । हाम्रो लागि यो पनि कुनै राजतन्त्रको तानाशाही भन्दा फरक छैन । त्यही राजाहरु घुमिफिरी आइराखेका छन्,’– उनले भने । File Photo/RN
प्रतिक्रिया