काठमाडौं, २२ चैत । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले राज्य संवेदनहीन भएको कारण अहिलेसम्म विद्यालय शिक्षा ऐन जारी हुन नसकेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष सुवेदीले अब आफूहरु वार्तामा समेत नबस्ने र शिक्षा ऐन जारी भएपछि बाटोबाटै सरकारलाई धन्यवाद दिएर काममा फर्किने बताए ।
‘उहाँहरुको वचनमा पत्यार नै छैन । हामीले भनेका छौं– तपाईँका वचन हामी पत्याउँदैनौं । काम गरेर देखाउनुस्, ऐन जारी गर्नुस्, बाटोबाटै धन्यवाद दिएर फर्किन्छौं । वार्ताको जरुरी छैन । अर्को संसद् बस्ला, जारी गर्ला । आफूलाई मन लागेको विषयमा अध्यादेश ल्याउन सक्ने, अनि यत्रो चार लाख शिक्षक र ७० लाख विद्यार्थीको सरोकारको विषयमा ल्याउन नसक्ने ?’ प्रश्न गर्दै उनले भने ।
राज्यले फेरि पनि शिक्षकहरुलाई सहमति गराएर घर फर्काउन चाहेको उनले बताए । आफूहरुले अहिलेसम्म तीन पटक राज्यसँग सहमति गरिसकेको बताउँदै उनले अब आफूहरु उधारोमा सहमति नगर्ने बताए । ‘हामीले तीन पटक सहमति गर्यौं । हाम्रा सबै माग मुद्दाहरु ती सहमतिभित्र छन् । अब चौथो सहमति गरेर शिक्षक, कर्मचारीहरु फर्किने मनस्थितिमा छैनन् । फर्किने अवस्थामा पनि छैन । यो आन्दोलन हाताहातीको आन्दोलन हो,’– उनले भने ।
संविधान जारी भएको ३ वर्षसम्म ऐन आइसक्नुपर्नेमा अहिलेसम्म नआएको बताउँदै उनले अब सरकारको कुरा पत्याउन नसकिने उनले बताए । अध्यक्ष सुवेदीले यसपालीको हिसाबकिताब नगदी हुने पनि बताए ।
प्रतिक्रिया