काठमाडौं, २२ चैत । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते राजवादी समूहरुले काठमाडौंको तीनकुनेमा हिंसात्मक, अमानवीय, अमर्यादित र उच्छृङ्खल ढङ्गले कार्यक्रम गरेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित भएका गृहमन्त्री लेखकले उक्त हिंसात्मक घटनाको उद्देश्य नै संविधान समाप्त गर्ने र लोकतान्त्रिक व्यवस्थालाई उल्ट्याउने रहेको बताए ।
‘तीनकुनेमा जुन प्रदर्शन भयो, घटना भयो । यसमा कुनै दुविधा छैन । यो प्रदर्शन, यो कार्यक्रम नेपालको वर्तमान संविधानलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको, हामीले अवलम्बन गरेको राज्य व्यवस्था, राज्य प्रबन्ध र यो व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो । यदि यो शान्तिपूर्ण, आफ्ना धारणा राख्ने र आलोचना गर्ने, सरकारलाई खबरदारी गर्ने, आफ्ना विचारहरु अभिव्यक्त गर्नेमात्रै उद्देश्यले प्रेरित थियो भन्ने भममा हामी पर्यौं भने यो ठीक हुँदैन । यसको मुख्य उद्देश्य नै संविधानलाई समाप्त पार्ने, लोकतान्त्रिक व्यवस्थालाई उल्ट्याउने थियो,’– गृहमन्त्री लेखकले भने ।
गत फागुन ७ गते प्रजातन्त्र दिवस दिन पूर्वराजाले दिएको अभिव्यक्ति, २५ गतेको प्रदर्शनलगातको पृष्ठभूमिलाई केलाएर हेर्दा पनि तीनकुनेको उक्त हिंसात्मक प्रदर्शन संविधान उल्ट्याउने र व्यवस्था सकाउने उद्देश्यबाट प्रेरित भएको कुरा कहीँकतै नलुकेको उनले बताए ।
मन्त्री लेखकले तीनकुने घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय प्रक्रियामा रहेको र दुवैका परिवारलाई उपलब्ध गराउने निर्णय हुने अन्तिम तयारीमा रहेको बताए । उक्त घटना नियोजित रुपमा भएको पनि मन्त्री लेखकको दाबी छ ।
प्रतिक्रिया