कार्यवहाक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई देउवाको निर्देशनः ‘शिक्षकहरुको माग तत्काल सम्बोधन गर्नु’

19.6k
Shares

काठमाडौं, २२ चैत । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई शिक्षकहरुको माग तत्काल पूरा गर्न निर्देशन दिएका छन् । शिक्षकहरु यसरी सडकमा उत्रिएर प्रदर्शन गर्दा राम्रो सन्देश नजाने भन्दै सभापति देउवाले कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई शिक्षक र विद्यालय कर्मचारीका प्रतिनिधिहरुसँग वार्ता गरी उनीहरुको माग सम्बोधन गर्न भनेका हुन् ।

‘सभापतिज्यू शिक्षकहरुको माग, मुद्दा र आन्दोलनप्रति संवेदनशील हुनुहुन्छ । उहाँले आज कार्यवाहक प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूलाई शिक्षकहरुको माग तत्काल पूरा गर्न निर्देशनसमेत दिनुभएको छ । शिक्षकहरु सडकमा आउनुपर्ने परिस्थिति निर्माण हुनुले राम्रो संकेत नगर्ने भन्दै उहाँले निर्देशन दिनुभएको हो,’– बुढानीलकण्ठ स्रोतले भन्यो ।

विगतमा भएका सहमति र सम्झौता अक्षरस पालना गर्दै तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न दवाब दिन गत बुधबारदेखि शिक्षकहरु काठमाडौं केन्द्रीत सडक प्रदर्शनमा छन् । उनीहरुले तीन दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक र विद्यालय कर्मचारीका प्रतिनिधिहरुलाई वार्तामा बस्न आह्वान समेत गरिसकेको छ । तर, शिक्षकहरु यस पटक वार्तामा बसेर उधारो सहमति नगर्ने पक्षमा छन् ।