रेविका खत्रीको उपचार खर्चलगायतको मागसहित स्ववियू कोटेश्वर क्याम्पसले बुझायो गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

1.4k
Shares

काठमाडौं, २२ चैत । स्वतन्त्र विद्यार्थी युनियन कोटेश्वर बहुमुखी क्याम्पसले गत चैत १५ गते राजावादी समूहको हिंसात्मक प्रदर्शनका क्रममा घाइते भएकी रेवीका खत्री उपचार खर्च, पूर्णरुपमा निको नहुने स्थिति भएमा आजीवन जीवनयापन खर्चलगायतका माग गर्दैै गृहमन्त्री रमेश लेखकलाई ध्यानाकार्षण पत्र बुझाएको छ । स्ववियू सभापति सन्जय बुढाथोकीसहितको टोलीले आज गृहमन्त्री लेखकलाई भेटी ध्यानाकार्षण पत्र बुझाएका हुन् ।

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तह व्यवस्थापन सङ्काय तेस्रो बर्षमा अध्ययनरत रेवीकाको आन्दोलनसँग साइनो सम्बन्ध नभएको र आन्दोलन भएको क्षेत्रभन्दा पर (भाटभटेनी सुपर मार्केट पछाडि) बाट घर जान हिडिरहेकी उनलाई प्रहरीले चलाएको गोली लागेको बताइएको छ । उनको अहिले सिभिल हस्पिटलको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

‘निजको उपचारको सम्पूर्ण खर्च र उदयपुरदेखि निजका परिवार काठमाडौं आई कुरुवाको रुपमा विक्षिप्त भई सघाइरहनु भएको छ । उहाँहरूको खर्चसमेत राज्यले व्यहोर्नु पर्ने हाम्रो जोडदार माग रहेको छ । साथै निज पूर्णरुपमा निको नहुने स्थिति भएमा उहाँको लागि आजिवन जीवनयापन खर्च राज्यले व्यहोर्नुपर्नेकुरा मन्त्रीज्यू समक्ष ध्यानाकर्षण गराउँन चाहान्छौँ । रेविकाले पढ्न चाहेजति तहको खर्च र रोजगार राज्यले सुनिश्चित गर्नुपर्ने समेत हाम्रो माग रहेको छ,’– स्ववियुले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

जायज मागको यथोचित सुनुवाई नभए स्वतन्त्र विद्यार्थी यूनियनको नेतृत्वमा विद्यार्थी सङ्घ सङ्गठन र सम्पूर्ण विद्यार्थीहरूले हदैसम्मको आन्दोलन गर्न बाध्य हुनेसमेत चेतावनी दिइएको छ ।