रवि लामिछानेलाई थुनामा पठाउने आदेश

4.2k
Shares

काठमाडौं, २२ चैत । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो ।

सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनाको संलग्नतामा सहकारीको ५५ करोड बढी रकम र रवि, छवि र जीबीले मात्र छुट्टै १० करोड ९९ लाख ३६ हजार रकम अपचलन भएको आरोप उनीहरुमाथि छ ।

लामिछाने यसअघि सो मुद्दामा एक करोड धरौटीमा रिहा भएका थिए । उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गरेको हो ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका सूचना अधिकारी राम बहादुर कुँवरका अनुसार रविलगायतलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध सरकारी उच्च अदालतमा पुनरावेदन आएको थियो । ‘जिल्ला अदालतको फैसलाविरुद्ध सरकार उच्चमा पुनरावेदन आएको थियो । धरौटीमा छाड्ने जिल्ला अदालतको फैसला बदर भएको छ । अब कानुनी प्रक्रियाअनुसार अगाडि बढ्छ,’– उनले भने ।

त्यस्तै, उच्च अदालतले नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतकै फैसला सदर गरेको छ ।