सरकारलाई पत्याएर प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री ओलीले शिक्षकहरुलाई दिए धन्यवाद !


काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुले सरकारलाई पत्याएर प्रदर्शन गरेको टिप्पणी गरेका छन् । आज (शनिबार) थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँं शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई सञ्चारकर्मीहरुले शिक्षकहरुको प्रदर्शनबारे प्रश्न राखेका थिए ।

सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले आवाज उठाएपछि सरकारले सुन्छ भनेर नै शिक्षकहरु प्रदर्शनमा आएको बताए । उनले शिक्षकहरुको माग र मुद्दाहरु छलफल र संवादमार्फत सम्बोद्दधन गरिने उनले बताए । समस्या टुङ्ग्याएर शिक्षकहरुलाई आफ्नो कार्यक्षेत्रमा पठाउने प्रधानमन्त्री ओलीले बताए ।

‘शिक्षकहरुलाई म धन्यवाद भन्न चाहन्छु । सरकारमाथि विश्वास गरेर प्रदर्शनमा आउनु भएको छ । आवाज उठाएपछि सरकारले सुन्छ भनेर उहाँहरु प्रदर्शनमा आउनु भएको छ । कति गर्न सकिन्छ, कस्तो गर्न सकिन्छ भन्ने त छलफलमा बसेर टुङ्गिन्छ । उहाँहरुले सरकारले सुनेन कि भनेर पहिला पहिला जस्तै ठान्नु भएको होला । समस्या टुङ्गिन्छ र जानुहुन्छ,’– उनले भने ।