काठमाडौं, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य हरि ढकालले पार्टी सभापति रवि लामिछानेको मुटुमा रगत नभएर तेजाव रहेको टिप्पणी गरेका छन् । आज (शनिबार) चितवनको ‘जनयात्रा’ लाई सम्बोधन गर्दै उनले प्रतिशोध साँध्नेहरु लामिछानेको मुटुमा भएको तेजावबाट एकदिन जलेर भष्म हुने बताए ।
आगामी २०८४ सालमा हुने निर्वाचनलाई लिएर निदाउन नसकेकाहरुले लामिछानेमाथि प्रतिशोध साँधेको उनको दाबी छ । ‘आज २०८४ सम्झेर निदाउनै नसक्नेहरुले प्रतिशोध साँधेका छन् । मैले भनिसकेँ– रवि लामिछानेको मुटुमा रगत होइन, तेजाव छ । यिनीहरु जल्ने छन्, यिनीहरु गल्ने छन्,’– उनले भने ।
आगामी २०८४ को चुनावमा संसारभरी रहेका नेपालीहरुलाई रास्वपासँग जोडिएर मतदान गर्न उनले आग्रह गरे । नेता ढकालले रास्वपाले बहुमत पाएर सरकार बनाएपछि ३२ वर्षसम्म देशलाई केही नदिएर लुट्नेहरु जेलमै सड्ने दाबी गरे । ‘यो ३२ वर्षसम्मको समय सजिलै वितेर जान दिने छैनौं । यिनीहरुको दशदान, बैतर्नी जेलभित्र गर्ने हो,’– उनले भने ।
प्रतिक्रिया