यो आन्दोलनले राजा ज्ञानेन्द्रको ईज्जतमा दाग लाग्यो है, अब राजसंस्था फर्किँदैन : सुजाता कोइराला


काठमाडौं, २३ चैत्र । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपालमा अब राजा फर्कने सम्भावना नरहेको दाबी गरेकी छिन् । उनले तिनकुनेको आन्दोलनले पूर्वराजा ज्ञानेन्द्र शाहको ईज्जतमा पनि दाग लागेको टिप्पणी गरिन् । आन्दोलनअघि ज्ञानेन्द्रको राम्रो ईज्जत थियो भन्ने उनको भनाई छ ।

उनले भनिन्,‘नेपालमा अब राजा फर्केलान जस्तो मलाई लागेन, जुन किसिमको व्यवहार भूतपुर्व राजाको देखियो अहिले बाटोमा, र जुन किसिमको व्यवहार उहाँका मान्छे र चेलाहरुको देखियो, अब चाहीँ राजा फर्केलाजस्तो मलाई लागेन । आई एम भेरी सरी टु से, राजसंस्था नेपालमा आउँदैन् ।’

हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । उनले अहिलेका नेताहरुले राम्रोसँग काम नगर्दा जनता असन्तुष्ट बनेको दाबी गरिन् । अहिले नेताहरुमा पार्टी बलियो बनाउने र आफूले कब्जा गर्ने होडबाजीमात्रै चलेको पनि उनको आरोप छ ।

पार्टी भनेको जनताको लागि काम गर्न चाहिने भन्ने कुरा नेताहरुले बिर्सिएको पनि गम्भीर आरोप लगाईन् । उनले गिरिजाप्रसाद कोइरालाले देशलाई विकासको बाटोमा हिँडाएको र नेपाल उदारीकरणको युगमा प्रवेश गरेको पनि स्मरण गराईन् ।