रवि लामिछाने सामाजिक रूपमा चर्चा परिचर्चा गर्नुपर्ने लायक व्यक्ति होइनः वरिष्ठ अधिवक्ता भण्डारी


काठमाडौं, २४ चैत । वरिष्ठ अधिवक्ता डा.सुदेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सामाजिक रुपमा चर्चा, परिचर्चा गर्न लायक व्यक्ति नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा.भण्डारीले हजारौं बचतकर्ताको रकम अपचलन गरेको विषयमा लामिछानेले तिर्ने विषयमा एक शब्द पनि कुरा नगरेको उनले बताए । सहकारीको पैसा गोर्खा मिडियामा ल्याएर अपचलन गरिएको विषयमा अदालतले धेरै ठाउँमा बोलिसकेको र प्रमाणहरुले पनि समर्थन गरिसकेको उनले बताए ।

‘गोर्खा मिडियाले हजारौं सहकारी बचतकर्ताहरुको रकम लिएर अपचलन गरेको छ । त्यो रकम म तिर्छु भन्ने कमिटमेन्ट रवि लामिछानेले गरेको भए उनको बारेमा चर्चा र परिचर्चा गर्न योग्य व्यक्ति हुन्थे । त्यो रकम तिर्छु भन्ने एउटा पनि शब्द उनी निकाल्दैनन् । अदालतले धेरै ठाउँमा बोलिसकेको छ । प्रमाणले देखाइसकेको छ । भोलि भोलि निर्णय होला । अहिले उहाँ अदालतको आदेशले पुर्वक्षको लागि थुनामा जानु भएको छ । यस्तो अवस्थामा म रवि लामिछानेको विषयमा धेरै कुरा गर्दिनँ । किनकी अब उहाँ सामाजिक रुपमा चर्चा र परिचर्चा गर्नुपर्ने लायक व्यक्ति होइन । त्यसको लागि योग्य व्यक्ति होईन । उहाँ एउटा संगिन अपराधको आरोप लागेको व्यक्ति हो,’– उनले भने ।

रास्वपा र त्यस दलमा आवद्ध नेताहरुले लामिछानेको विषयलाई लिएर अपारधको राजनीतीकरण गरिरहेको र राजनीतिको अपराधीकरण गरिरहेको वरिष्ठ अधिवक्ता भण्डारीले बताए । यसले सिङ्गो पार्टीको छवि नै स्खलित भइरहेको उनले बताए । रास्वपामा डेमोक्रेटिक कल्चरको अभाव देखिएको उनको आरोप छ ।