काठमाडौं, २४ चैत । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएको आरोप लगाएका छन् । वाग्लेले चितवनमा भाषण गर्नेक्रममा रवि लामिछानेलाई थुनामा पठाएको विषयलाई लिएर न्यायाधीशको इन्टिग्रिटीमै प्रश्न उठ्नेगरी अभिव्यक्ति दिएको वरिष्ठ अधिवक्ता भण्डारीको आरोप छ । लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले गत शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो । सोही विषयलाई लिएर डा.वाग्ले हिजो चितवनमा अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएको डा.भण्डारीले बताए ।
‘स्वर्णिम वाग्लेजीले चितवनमा भाषण गर्दाखेरी न्यायाधीशहरुले गरेको आदेशको बारेमा खिसीट्यूरी गर्नुभएको छ । त्यो आदेशमाथि लान्छना लगाउनुभएको छ । त्यो आदेश कहीँ लेखेर ल्याइएको भन्ने किसिमले बोल्नुभएको छ । यो आफैंमा पनि ‘कन्टेम अफ कोट’ को विषय हो । उहाँको पार्टीका विभिन्न मान्छेहरुले कन्टेम अफ कोट हुनेगरी अभिव्यक्ति दिएका छन् । हिजो रवि लामिछानेजीलाई धरौटीमा छोड्दा त्यही अदालत ठीक भयो । आज थुनामा पठाउँदा त्यही अदालतप्रति उहाँहरु आक्रमक बन्नुभएको छ । उहाँहरुको शैली कहिले पनि डेमोक्रेटिक छैन । रूल अफ ल भित्र छैन,’– उनले भने ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा छाडेको थियो । धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । सोही विषयलाई लिएर वाग्ले चितवनमा दिएको अभिव्यक्ति अदालतको अवहेलनाको विषय बन्नसक्ने उनले बताए ।
‘मैले त्यो फैसला के रहेछ भनेर पनि हेरेँ हिजो । दुई जना न्यायाधीशहरुले लेख्नुभएको, सात/आठ पानाको छ । त्यहाँ क्यानडाका उदाहरणहरु दिइएका छन्, त्यहाँ हिन्दुस्थानका उदाहरणहरु दिइएका छन् । बाफ्रेबाफ कस्ता ट्यालेन्टेड न्यायमूर्तिहरु आएछन् नेपालमा भनेर एकछिन गमे पनि मैले । तर, त्यो बहस सकिएको दुई घण्टाभित्र लेख्न सकिने फैसला थिएन । तानाबाना पहिला नै बुनिएको रहेछ भन्ने थप प्रमाण त्यो पनि हो जस्तो मलाई लाग्छ,’– डा.वाग्लेले चितवनको भाषणका क्रममा भनेका थिए ।
प्रतिक्रिया