काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले अब आउने गभर्नरले निकै संयमताका साथ अर्थतन्त्रको यथार्थ बुझेर पाइला चाल्नुपर्ने अवस्था रहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै पूर्वगभर्नर क्षेत्रीले सरकारले जे भन्यो त्यही मान्ने मान्छे नभएर अबको गभर्नर मुलुकको अर्थतन्त्र जोगाएर लानसक्ने चाहिने बताएका हुन् । उनले मौद्रिक नीतिलाई केन्द्रीय बैंकको स्वेत्तताको आधारमा अडान लिनसक्ने व्यक्ति अबको गभर्नर हुनुपर्ने उनले बताए ।
साथै, अहिले गभर्नर नियुक्तिमा पार्टीका मान्छे भन्दा पनि ब्रिफकेशको चलखेल सुरु भइरहेको उनले आशंका व्यक्त गरे । ब्रिफकेश बुझाएको कोही मानिस गभर्नर नियुक्त भएको खण्डमा मालिकको आदेश मान्नु पर्ने र त्यसले देशको अर्थतन्त्रको हितमा काम गर्न नसक्ने उनको भनाइ छ । पूर्व गभर्नर क्षेत्रीले कोही पनि गोठालो अबको गभर्नर हुन नहुने टिप्पणी गरे ।
‘पार्टीका मान्छेहरु भन्दा पनि अब त यहाँ ब्रिफकेश गरूङ्गो आउँछ कि भन्ने चाहीँ डर भयो । त्यस्तो चाहीँ हुन हुँदैन । त्यस्तो भयो भने गोठालो हुन्छ । आफ्नो मालिकले जे काम लगायो त्यही गर्नुपर्ने हुन्छ । आफ्नो विवेक प्रयोग गरेर काम गर्ने आँट, जाँगर र साहस भएको हुनुपर्छ,’– उनले भने ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आजदेखि सकिएको छ । कार्यकाल सकिसक्दा पनि सरकारले नयाँ गभर्नर नियुक्ति गरेको छैन । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गभर्नर सिफारिस समिति भने बनेको छ । उक्त समितिले सरकारलाई तीन जनाको नाम सिफारिस गर्ने छ । सिफारिसमा परेका तीन मध्ये सरकारले एक जनालाई गभर्नर नियुक्ति गर्नेछ ।
प्रतिक्रिया