काठमाडौं, २४ चैत । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यकता परेमा संसद्को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् । आज (आइतबार) नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए । माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न उनले शिक्षकहरूलाई सुझाव दिए ।
‘जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस्,’ आन्दोलनरत शिक्षकहरूलाई सुझाव दिँदै प्रचण्डले भने, ‘कहिले सिट्ठी बजाउनुस्, कहिले के गर्नुपर्छ गर्नुस् । हामी तपाईंहरूको साथमा छौं ।’
चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । उनीहरूले विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग गरेका छन् ।
अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग पूरा गर्न संसद्को विशेष अधिवेशनका लागि प्रतिपक्षी दलहरूसँग संवाद थाल्ने बताए । ‘शिक्षकहरूका माग पूरा गर्न जरूरी पर्यो भने विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पूरा गर्नेतिर हामी अघि बढ्छौं । म आजैदेखि प्रतिपक्षी दलहरूसँग छलफल गर्छु,’ उनले भने ।
सरकारले हतारिएर सङ्घीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेको उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले शिक्षकहरूलाई सताउने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया