काठमाडौं, २५ चैत । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले तीनकुनेको हिंसात्मक घटनामा सरकारको पनि षड्यन्त्र रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले तीनकुनेको उक्त हिंसात्मक घटनामा सरकार र दरबारीयाहरुको षड्यन्त्र रहेको बताएका हुन् । आफूहरुले उक्त घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाहीको माग गरेपनि सरकारले नसुन्नुले थप आशंका उत्पन्न भएको उनले बताए ।
‘तीनकुने घटनाको बारेमा हामीले सरकारलाई भनिराखेका छौं, त्यहाँ षड्यन्त्र भएको छ । सरकारको तर्फबाट पनि षड्यन्त्र भएको छ, दरबारीयाहरुले पनि षड्यन्त्र गरिराखेका छन् । द्वन्द्व मच्चाउने, हिंसा मच्चाउने खालको, आगजनी गर्ने खालको षड्यन्त्र गरिराखेका छन् । त्यस कारणले सरकारले कडाभन्दा कडा कदम चाल्नुपर्छ भनेर त हामीले लगातार भनिराखेका छौं । सरकार कडाइका साथ किन कदम चाल्न सक्दैन त भन्दाखेरी सरकारभित्र पनि कतिपय, राज्यका कतिपय निकायहरुमा शक्तिकेन्द्रहरु खेलिरहेकै हुन्छन्,’– उनले भने ।
गत चैत १५ गते राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरुले निजी भवनहरु, व्यवसायिक भवन, सरकारी सम्पत्ति र व्यवसायिक स्थलहरुमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए । तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीको नेतृत्वमा रहेको राजसंस्था पुरनर्स्थापनाका लागि तेस्रो जनआन्दोलन समितिले उक्त प्रदर्शनका लागि जनकमाण्डर बनाएर पठाएको दुर्गा प्रसाईँ हिंसात्मक घटनापछि अहिले फरार छन् । घटना भएको १० दिन वितिसक्दा पनि प्रसाईँबारे राज्य अझै बेखबर छ ।
प्रतिक्रिया