सरकार विगतको सहमतिबाट पछाडि हट्न पाउँदैन, शिक्षकहरुको माग तत्काल सम्बोधन गर्नुपर्छः कांग्रेस सह-महामन्त्री यादव


काठमाडौं, २५ चैत । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले विभिन्न माग राख्दै सडकमा उत्रिएका शिक्षकहरुको माग सम्बोधन गरिनुपर्ने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले सरकार विगतमा शिक्षकहरुसँग गरेको सहमतिबाट पछाडि हड्न नपाउने बताएका हुन् । आफूहरुसँग विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् ।

‘शिक्षकको आन्दोलनमा हिजो म आफैं पनि सहभागी भएँ । उहाँहरुको माग पूरा गर्नुपर्छ । उनीहरुको मागलाई सरकारले अविलम्ब पूरा गर्नुपर्छ । यसमा आलटाल, हेलचक्र्याईँ सरकारले गर्नु हुँदैन । सबै काम छोडेर शिक्षकहरुसँग विगतमा जुन सम्झौता गरेको छ । त्यो सम्झौता कार्यान्वयन गरेर आफ्नो विद्यालय फर्काउनुपर्छ,’– उनले भने, ‘उनीहरुको माग पूरा गर्न जे–जे गर्नुपर्छ, सरकारले गर्नुपर्छ । किनभने सहमतिबाट पछि हट्न पाइँदैन ।’ File Photo/RN