भोलिको आमसभा बल्खुमा गर्ने राप्रपाको तयारी


काठमाडौं, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलिको कार्यक्रम बल्खुमा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिएपछि राप्रपाले भोलिको कार्यक्रम बल्खुमा गर्न लागेको हो ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले भोलिको प्रदर्शनबारे जानकारी गराउँदै भनेका छन्, ‘भोलि चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ। प्रशासनले सुरक्षाको कारण देखाउॅदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो । सरकारको रवैयाबाट बुझौं( हाम्रो आन्दोलनले उचाई लिदैंछ । आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔं ।’

जिल्ला प्रशान कार्यालय काठमाडौंले हिजो राप्रपालाई भृकुटीमण्डपमा प्रदर्शन तथा बृहत आमसभा गर्न नदिने निर्णय गरेको थियो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सिफल चौर वा बल्खुमा प्रदर्शनको लागि स्थान उपलब्ध गराउन सकिने जिल्ला प्रशासन कार्यालयले बताएको थियो । जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको दुई विकल्पमध्ये राप्रपाले बल्खु रोजेको छ ।File Photo/RN