भारतसँग सम्बन्ध सुदृढ नभएसम्म नेपालमा विकास सम्भव छैन : महेन्द्र यादव (भिडिओसहित)


काठमाडौं, २५ चैत्र । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले भारतसँगको नेपालको सम्बन्ध सुदृढ नभएसम्म देशको विकास सम्भव नभएको बताएका छन् । उनले दुवै देशका प्रधानमन्त्री तहमा भ्रमण आदानप्रदान भइरहनुपर्नेमा पनि जोड दिए ।

उनले भने,‘भारतसँग नेपालले सम्बन्ध सुदृढ गर्नैपर्छ, भारतसँगको नेपालको सम्बन्ध राम्रो नभईकन नेपालमा विकास सम्भव छैन । धेरै मान्छेले नेपाल र भारतबीचको सम्बन्ध राम्रो नहोस भनेरपनि खोजिरहेका होलान् । तर, नेपाल र भारतबीचको सम्बन्ध त जनता जनताबीचको सम्बन्ध हो । तसर्थ, दुवै देशको सरकारले चाहेरपनि सम्बन्ध बिर्गान सक्दैन् । यो सदियौंदेखि सांस्कृतिक, धार्मिक, सामाजिक र विकाससम्बन्धी सबै रोटी र बेटीको सम्बन्ध भएको कारणले यो सम्बन्धलाई कसैले पनि बिर्गान सक्दैन । हाम्रो त भारतसँग विशेष सम्बन्ध छ । यो सम्बन्धलाई दुवै देशले थप बलियो बनाउनुपर्छ ।’

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भारतसँग सम्बन्ध राम्रो रहने विश्वास दिलाए । भारतसँग भएका केही असमझदारी भए हटाउनुपर्नेमा जोड दिए ।