काठमाडौं, २५ चैत । नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूको मागप्रति ऐक्यवद्धता जनाएको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूको मागप्रति ऐक्यवद्धता रहेको जानकारी गराएका हुन् । माओवादी केन्द्रले आम जनसमुदायलाई समेत शिक्षकहरूको आन्दोलनको पक्षमा उभिन आह्वान गरेको छ ।
साथै, कांग्रेस–एमाले गठबन्धन सरकारले हजारौं शिक्षकको पेशा र लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहेको पनि माओवादी केन्द्रको आरोप छ । ‘नेपाल शिक्षक महासंघसँग ५ बुँदे र ६ बुँदे सहमति भएको स्मरणीय छ । उक्त सहमति अनुरूप तर्जुमा भएको विधेयकलाई महत्व दिएर यथाशीघ्र पारित गर्नुपर्नेमा कांग्रेस र एमालेको गठबन्धन सरकारले हजारौं शिक्षक र लाखौं विद्यार्थीको पेशा तथा भविष्यमाथि खेलवाड गर्नु निन्दनीय छ,’– विज्ञप्तिमा भनिएको छ ।
सरकार गठन भएको दश महिनासम्म आन्दोलनरत शिक्षकहरूको जायज मागलाई वेवास्ता गरिएको माओवादी केन्द्रका आरोप छ । माओवादी केन्द्रले सरकारले यस अवधिमा देशलाई गम्भीर असर पर्ने प्रकृतिका ऐनहरू भने निसंकोच अध्यादेशमार्फत जारी गरेको र शिक्षकहरूको मागबारेमा भने उदासीन र गैर–जिम्मेवार भएको बताएको छ ।
माओवादी केन्द्रले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकार र नेपाल शिक्षक महासंघबीच २०८० असोज ५ गते र १२ गते भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेको छ । शिक्षा ऐनलाई प्राथमिकतामा राखी विशेष अधिवेशन या अन्य उपायबाट विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकहरूलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन सरकार र अन्य सरोकारवाला पक्षसँग माओवादीले आग्रह गरेको छ ।
प्रतिक्रिया