जिल्ला कारागार रूपन्देहीमा रवि लामिछानेको लागि छुट्टै कक्ष


काठमाडौं, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । उनलाई रूपन्देही जिल्ला कारागार भैरहवामा राखिएको छ । भैरहवा कारागारमा रहेका ४ वटा ब्लकमध्ये लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको छ । लामिछानेलाई राखिएको ब्लक नं ४ मा उनीमात्रै सिङ्गल छन् । लामिछानेलाई उक्त ब्लकमा राख्ने भएपछि त्यहाँ छुट्टै कक्षसमेत बनाइएको बताइएको छ ।

‘हामीले उहाँलाई भैरहवा कारागारको ब्लक नम्बर ४ मा राखेका छौं । स्वास्थ्य चेकजाँच गरेर, सबै प्रक्रिया पुर्याएर उहाँलाई भित्र पठाइसकेका छौं । अहिले उहाँ बसेको चाहीँ सिङ्गल हो,’– कारागार प्रशासक सुरेश भण्डारी भने ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा यसअघि जिल्ला अदालत रूपन्देहीबाट लामिछाने एक करोड धरौटीमा छुटेका थिए । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाएको हो । अब अदालतबाट लामिछाने छुट्ने अर्को आदेश नभएसम्म उनी थुनामै रहने छ । यता रास्वपाका नेताहरुले भने लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारी थालेको बताइएको छ । File Photo/RN