काठमाडौैं, २५ चैत्र । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले भारतले विकास र समृद्धिमा गरेको तरक्कीबाट नेपालले पनि लाभ लिन चाहेको बताएका छन् । गणेशमान सिंह फाउण्डेशनले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।
उनले घनिष्ठ सहकार्यको माध्यमबाट र पारस्परिक समझदारीको बाटोबाट अघि बढ्नको लागि आह्वान गरेको बताए । छोटो समयमा नै नेपाली जनतालाई सुखी बनाउने र मुलुक समृद्ध बनाउने नेपालका राजनीतिक दलहरुको चाहना रहेको उल्लेख गर्दै नेपालको विकासको चाहनाप्रति भारत अझै बढि उदार भइदिओस भन्ने अपेक्षा राखे । उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा चन्द्रशेखरजीले अत्यन्तै ठूलो नैतिक बल दिएको स्मरण गराए ।
२०४६ सालको परिवर्तनको निम्ति चन्द्रशेखरले उर्जा प्रदान गरेकोले नेपाली जनताले चन्द्रशेखरजीलाई सम्झिरहने पनि ज्ञवालीको भनाई छ । चन्द्रशेखरजीले आफ्नो प्रधानमन्त्री कालमा नेपाल–भारत सम्बन्ध सुधारमा ठूलो भूमिका खेलेको उनको स्मरण छ । नेपालको लोकतान्त्रिक आन्दोलनप्रति र प्रजातन्त्र चाहने नेपाली नेताहरुप्रति चन्द्रशेखरजीले ठूलो योगदान दिएको पनि ज्ञवालीले सुनाए ।
प्रतिक्रिया