काठमाडौं, २५ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले छिट्टै बोलाएको खण्डका दुई देशबीचको सम्बन्ध अझ सुधार हुने बताएका छन् । आज (सोमबार) गणेशमान सिंह फाउण्डेशनले आयोजना गरेको ‘नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भेटवार्ता भएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘थाइल्याण्डमा ओलीजीको र भारतीय प्रधानमन्त्रीको भोटघाट भयो । हाम्रो देशका प्रधानमन्त्रीलाई भारतले सायद छिट्टै बोलायो भनेदेखि, निम्ता आयो भनेदेखि उहाँ गएर अझ सम्बन्ध सुधार हुनेछ ।’
साथै, कतिपय कुरामा नेपालले भारतबाट आशा गर्ने कुरालाई स्वभाविक मान्नुपर्ने उनले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले नेपाल भारतको खिलाफमा नरहेको पनि बताए । ‘कतिपय कुराहरुमा नेपालले बढी आशा गर्ने कुरा स्वभाविक पनि हो । त्यसलाई भारतले नेपाल विरोधी छ भन्ने ठान्न हुँदैन । भातरबाट नेपालले आशा गर्न चाहन्छ होला त्यो अलग कुरा हो । भारतको खिलाफमा नेपाल छैन,’– उनले भने ।
उक्त कार्यक्रममा भारतीय नेताहरुको पनि सहभागिता रहेको छ ।
प्रतिक्रिया