शिक्षकहरुको आन्दोलनप्रति वाईसीएल नेपालको पूर्ण ऐक्यबद्धता


काठमाडौं, २५ चैत । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालले शिक्षकहरुको आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जाहेर गरेको छ । वाईसीएल अध्यक्ष सुबोध सेर्पाली र महासचिव गणेश शाहीले विज्ञप्ति जारी गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको सरकार र नेपाल शिक्षक महासंघबीच २०८० असोज ५ गते भएको ६ बुँदे सहमति र असोज १२ गते भएको ५ बुँदे सहमतीअनुसार शिक्षकहरुको माग सम्बोधन गरिनुपर्ने बताएका हुन् ।

वाईसीयलले देशको सर्वाङ्गिन विकासका लागि भूमिका खेल्ने हजारौं शिक्षक र लाखौं विद्यार्थीहरुको भविश्यप्रति गम्भीर बनन सरकारलाई आग्रह गरेको छ । ‘शिक्षकहरुको मागहरुलाई यथासिघ्र सम्बोधन गर्न सरकारलाई हाम्रो संगठन जोडदार माग गर्दछ । अब शिक्षकहरु आन्दोलनको सडक पेटीमा होइन, विद्यालयका कक्षाकोठाहरुमा भेट्ने वातावरण बन्ने छ भन्ने विश्वास व्यक्त गर्दछौं,’– विज्ञप्तिमा भनिएको छ ।

सरकारले आफूहरुसँग विगतमा गरेको सहमति र सम्झौताहरुलाई समेटेर तत्काल शिक्षा ऐन जारी गरिनुपर्ने भन्दै देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । शिक्षा ऐन जारी नभएसम्म कार्यक्षत्रेमा नफर्किने शिक्षकहरुको चेतावनी रहेको छ ।