सरकारले ठीक ढंगले काम गरेको भए काठमाडौंमा एउटा पनि आन्दोलन हुँदैनथ्योः महामन्त्री थापा


काठमाडौं, २५ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ठीक ढंगले काम गर्न नसकेको बताएका छन् । ‘तरुण यात्रा’ पुस्तक विमोचन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारले ठीक ढंगले काम गर्न नसकेकै कारण अहिले काठमाडौंमा दैनिक तीन/चार वटा आन्दोलन भइरहेको बताएका हुन् । ‘अहिले काठमाडौंको सडकमा दुईटा/तीनवटा आन्दोलन चलिरहेको छ । सरकारले ठीक ढंगले काम गरेको भए एउटा पनि आन्दोलन हुँदैन थियो,’– महामन्त्री थापाले भने ।

महामन्त्री थापाले सरकारको गति ठीक नभएको बताए । उनले सरकारको बारेमा खुलेर नै छलफल गर्नुपर्ने बेला भएको पनि बताए । ‘हामी सरकारमा छौं । हाम्रो जिम्मेवारी पनि छ । सरकारको बारेमा पनि हामीले अब अलिकति खुलेर छलफल गर्नुपर्ने बेला आएको छ । सरकारको गति ठीक छैन । जुन तरिकाले कामहरु गर्नुपर्ने हो, जसरी सरकारका कामहरुबाट नागरिकलाई भरोसा सिजर्ना गर्नुपर्ने हो, हुन सकिरहेको छैन,’– महामन्त्री थापाले भने ।

महामन्त्री थापाले लघुवित्त, सहकारीबाट पीडित भएका मानिसहरु अहिले काठमाडौंको सडकमा ‘मेरो बचत चाहियो’ भनेर आन्दोलन गरिरहेको बताए । उनीहरुको बचत कसरी फिर्ता गराउने भन्ने सन्दर्भमा संसद्बाट कानुन बनाएर धेरै उपायहरु सुझाइसक्दा पनि सरकारले समाधान नगरेको उनले बताए ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले भनेको नमानेको पनि उनले बताए । आफूहरुले जे काममा हात हाल्न हुँदैन भन्यो, प्रधानमन्त्रीले त्यही काम गरिरहेको पनि उनले बताए । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोतर्फ लक्षित गर्दै उनले भने, ‘हामीले कोठामा भन्यो, बाहिर भन्यौं, भित्र भन्यौं, सम्झाएर भन्यौं– नचाहिने ठाउँमा हात नहाल्नुस् है भनेर । कतिपय ठाउँमा कर्मचारी ल्याउने, बदल्ने सरकारको अधिकार छ । तर, नचाहिने ठाउँमा हात नहालनुस् । बेकारमा आगोमा हात हालेपछि पोल्छ । नचाहिने ठाउँमा हात हालेर सडकमा मान्छे निस्किएका छन् ।’

शिक्षकहरुको माग सम्बोधन गर्न आफूहरुले सरकारलाई चार/पाँच महिनादेखि उपसमिति बनाएर काम गरौं भन्दा नटेरेको पनि उनले सुनाए । अहिले शिक्षकहरुको सरकारसँग विश्वासको सङ्कट सिर्जना भइरहेको उनले बताए । अब दल र सरकारले शिक्षकहरुको मागप्रति समर्थन छ भनेर विज्ञप्ति जारी गरेर मात्रै नहुने उनले बताए । सबैलाई एक ठाउँमा ल्याएर चाँडोभन्दा चाँडो कानुन निर्माण गरिनुपर्ने उनले बताए । File Photo/RN