दुर्गा प्रसाईँबारे सरकार बेखबर, दाजु राकेश पक्राउ


काठमाडौं, २५ चैत । दुर्गा प्रसाईँका दाजु राकेश पक्राउ परेका छन् । राकेशलाई प्रहरीले सोधपुछका लागि भन्दै पक्राउ गरेको हो । राकेशको कोटेश्वरस्थित घरमा बसेर दुर्गा भागेको आशंका प्रहरीको रहेको छ । राकेशलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

यता दुर्गा प्रसाईँबारे भने सरकार बेखबरजस्तै छ । गत चैत १५ गतेको आन्दोलनमा वितण्ड मच्चाएर भागेका प्रसाईँबारे प्रहरीले अहिलेसम्म सुइँको पाएको छैन । तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीको नेतृत्वमा गठन भएको राजसंस्था पुनर्स्थापनाका लागि तेस्रो जनआन्दोलन समितिले दुर्गा प्रसाईँलाई तीनकुनेको आन्दोलनमा जनकमाण्डर बनाएर पठाएको थियो । उक्त आन्दोलन अन्ततः हिंसामा परिणत भएको थियो । File Photo/RN