काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले व्यवस्था नै परिवर्तन गर्ने राजावादीहरुको माग सरकारले सम्बोधन गर्न नसक्ने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजावादीहरुले संविधानतः दुई तिहाई बहुमत ल्याएर व्यवस्था उल्ट्याउने क्षतता राख्नुपर्ने बताएका हुन् ।
‘व्यवस्था परिवर्तन भन्ने उनीहरुको मागको बारेमा सरकारले केही गर्न सक्दैन । त्यो उनीहरुको कुरा हो, त्यसमा सरकारले केही गर्न सक्ने कुरा भएन । संविधानअनुसार स्वतन्त्रता छ । त्यसभित्र रहेर उहाँहरुले माग राखिराख्नु भएको छ । उहाँहरुलाई त्यस्तो लाग्छ भने दुई तिहाइको बहुमत ल्याएर संविधानतः शान्तिपूर्ण तरिकाले व्यवस्था परिवर्तन गर्रिए भइहाल्यो नि । त्यति क्षमता राख्नुपर्छ निर्वाचनमा भाग लिइसकेपछि । बहुमत ल्याउने, विस्तारै दुई तिहाइ ल्याउन,’– पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका खड्काले भने ।
साथै, वर्तमान सरकारले राम्रो काम गर्न नसकेको उनको आरोप छ । नेता खड्काले सरकार ट्याकभन्दा बाहिर गएर जनतालाई दोष दिइरहेको बताए । ‘मैले सरकारले राम्रो काम गरेको छ भनेको होईन । पूरै राम्रो काम गरिराखेको छ भनेको छैन । आफू चाहीँ ट्याकदेखि बाहिर जाने, जनतालाई दोष दिएर, जनताले आन्दोलन गरे, जनताले तोडफोड गरे भनेर कहीँ हुन्छ ? पहिला आफू संविधान, कानुनभित्रको अनुशासनमा रह्यौं भने न हो,’– उनले भने । File Photo/RN




प्रतिक्रिया